कञ्चनपुरमा विद्यालय बसको ठक्करबाट एक आठ वर्षीय बालकको मृत्यु भएको छ। आफै अध्ययनरत विद्यालयको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका– ५ वनसमितिका अनमोल कुँवरको मृत्यु भएको हो।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका– २ बाणिको डाईमण्ड इङलिस बोडिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयको कक्षा २ मा अध्ययनरत कुँवरको मृत्यु भएको छ।
बिज्ञापन
सोमबार साँझ कुँवरसहितका विद्यार्थी ओसारेर बस अघि बढ्ने क्रममा ठक्कर लाग्दा बालक घाइते भएका थिए। उनको भारतको इभिए अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो। कुँवर वाणीबंकस्थित मामाघर बसेर उक्त विद्यालयमा पढ्दै आएका थिए।
चरम लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयले विद्यालय घेराउ गर्दै आन्दोलन गरिरहेका छन्। विद्यालय प्रशासन जिम्मेवार नभएको भन्दै आक्रोशित उनीहरुले विद्यालय घेराउ गरी दोषीउपर कार्बाहीको माग गरेका छन्। घटनाबारे कञ्चनपुर प्रहरीले छानबिन भइरहेको जनाएको छ।
बिज्ञापन








