अस्ट्रेलियाका प्रहरीहरूले ब्रिसबेनमा एउटा शिशुमाथि उम्लिरहेको कफी फ्याँक्ने पुरुषको खोजी गरिरहेका छन् । सो घटनालगत्तै ती पुरुष देश छाडेर भागेका छन् ।
बिज्ञापन
अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा उनको खोजी भइरहेको बताइएको छ । यो घटना गएको महिनाको हो । यस घटनामा ९ महिने ती शिशुको मुहार र पाखुरा गम्भीर रुपमा जलेको बताइएको छ । क्विन्सल्यान्डका प्रहरीहरूले ३३ वर्षका ती पुरुषको नाममा पक्राउ पुर्जी जारी गरेका छन् । उनलाई आजीवन कारावाससम्मको सजाय दिलाउने गरी अभियोग चलाइँदैछ । घटना भएको ६ दिनपछि मुख्य संदिग्ध सिड्नी विमानस्थलबाट देशबाहिर गएको खुलासा भएको छ ।
बिज्ञापन
पहिचान पुष्टि हुनुभन्दा १२ घण्टा अगाडि ती पुरुष विदेश भागिसकेका थिए । ३१ अगस्टमा शिशु परिवारसँग नजिकैको पार्कमा थिए । परिवार त्यहाँ पिकनिक खान आएका थिए । अपरिचित पुरुषले शिशुको नजिक आएर थर्मसभरिको तात्तातो कफी बच्चामाथि खन्याइदिए । शिशुको तत्कालै प्राथमिक उपचार गरियो । कफीले पोलेको ठाउँमा आइस पनि लगाइयो । अस्पताल लगियो । तर शिशुलाई नराम्ररी पोलिसकेको थियो । जसका कारण उनको कयौँ शल्यक्रिया गर्नुपर्यो ।
सन्दिग्धले ती शिशुमाथि किन तातो कफी खन्याए भन्ने थाहा हुन सकेको छैन । सन्दिग्ध कुन देशमा भागेको भनेर प्रहरीलाई थाहा भएको भए पनि यतिबेला पहिचान खुलाउँदा अनुसन्धानमा खलल हुन सक्ने भनेर उनको पहिचान गोप्य राखेको छ । ती पुरुष नियमित रूपमा अस्ट्रेलिया आइरहने गरेको देखिएको छ ।








