भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै कृष्णजन्माष्टमी मनाउछन् । सोमबार ६ घडी ५८ पला अर्थात् बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख छ।
बिज्ञापन
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ। कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ।
बिज्ञापन
मानिसले गरेको कर्मअनुसारनै उसलाई फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखेर चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सन्देश छ। आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ। नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ। नेपालमा पाटनको कृष्णमन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।








