आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ।
बिज्ञापन
वि।सं। २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
बिज्ञापन
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन्। पछिल्लो समय दही, चिउरासँगै आँपको सिजन भएकाले आँपका साथमा मासुसमेत खाने प्रचलन बढ्दै गएको छ। नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।
कृषि विभागले देशभरमा ९.८ धान रोपाइँ सकिएको जानकारी दिएको छ । सबै प्रदेशबाट प्राप्त तथ्यांकअनुसार यस अवधिसम्ममा ९.८ प्रतिशत धान रोपाई सकिएको विभागले जानकारी दिएको हो । गत वर्षको यस अवधिसम्ममा ८.७५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।
बिज्ञापन
तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । यो प्रदेशको २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यसबाहेक लुम्बिनीमा ८.८ प्रतिशत भूभागमा रोपाइँ सकिँदा गण्डकीमा ८.३ प्रतिशत रोपाइँ सकिएको छ । यसबाहेक कोशी प्रदेशमा ५.६ प्रतिशत भूभागमा र मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताइएको छ । तथ्यांकअनुसार सबैभन्दा कम रोपाई मधेशमा भएको छ ।








