निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन (PABSON) र नेशनल प्याब्सन (NPABSON) ले देशभरका सबै निजी विद्यालयहरू आगामी भदौ ९ गते सोमबारदेखि अनिश्चितकालीन रुपमा बन्द गर्ने घोषणा गरेका छन्।
बिज्ञापन
संघ–संस्थाले शिक्षा नीतिमा आएको नयाँ मस्यौदा, विभिन्न ऐन र विद्यालयसम्बन्धी नीति–निर्णयले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पारेको भन्दै विरोधस्वरूप यस्तो कठोर निर्णय लिनुपरेको बताएका छन्। उनीहरूको भनाइ अनुसार सरकारसँग पटक–पटक वार्ता, आग्रह र माग राख्दा पनि बेवास्ता भएकोले अन्तिम विकल्पका रूपमा विद्यालय बन्द गर्ने बाध्यता आएको हो।
बिज्ञापन
प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो जायज मागलाई सम्बोधन नगरी सरकारले लापरबाही गरेको छ। विद्यालय सञ्चालक, शिक्षक तथा विद्यार्थीको भविष्यलाई अन्योलमा राख्ने कार्य स्वीकार्य छैन। त्यसैले भदौ ९ गतेदेखि अनिश्चितकालीन रूपमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।”
यस आन्दोलनका कारण देशभरका लाखौँ विद्यार्थी प्रभावित हुने देखिएको छ। विद्यार्थी तथा अभिभावकले पठन–पाठन अवरुद्ध हुँदा गम्भीर असर पर्ने भन्दै सरोकारवालालाई चाँडै समाधान खोज्न आग्रह गरेका छन्। अभिभावक संघ–संस्थाहरूले पनि सरकार र विद्यालय सञ्चालक दुबै पक्षलाई वार्तामार्फत समस्या समाधान गर्न सुझाव दिएका छन्।








