ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैङ्कका ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।
बिज्ञापन
काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रुपमा उक्त कार्डको अनावरण गरेका छन् । ग्लोबल स्काई क्लब कार्डवाहकहरुले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनुहुनेछ भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरूप निःशुल्क टिकट पाइनेछ ।
बिज्ञापन
यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनस प्राप्त हुनेछ । बोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरूको लागि प्रयोग गर्न सकिनेछ । ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । कार्डबाहक ग्राहकहरूले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुविधा पनि पाउने छन् । कार्यक्रमलाई सम्बोधन गर्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैङ्क र यती एअरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे ।
त्यसैगरी, यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ग्लोबल आइएमई बैङ्कसँगको यस सहकार्यबाट बैङ्क र एअरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए । कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा यती एअरलाइन्सका अकाउन्टेबल म्यानेजररचिफ बिजनेस अफिसर युवराज विष्टले एकआपसमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा दुई संस्थाबिच ग्राहक तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरी थप सहकार्य हुने विश्वास व्यक्त गरे ।
बिज्ञापन
ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । साथै ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
त्यसैगरी, नेपालको अग्रणी हवाई संस्था यती एअरलाइन्सले विगत २६ वर्षदेखि अनवरत रुपमा यात्रुलाई सेवा दिँदै आइरहेको छ । हाल ७ वटा एटीआर विमानहरुबाट यतीले नेपालका सुगम क्षेत्रहरू लगायत पर्वतीय उडान मार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुहरूलाई सेवा दिइरहेको छ ।








