बिहे भोजमा झडप हुँदा बाजुरामा एक युवकको मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका- ८ मोटाबाडामा दुई समूहबीच झडप हुँदा घाइते भएका सोही नगरपालिकाको ९ नम्बर वडाका २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीका अनुसार बिहीबार राति बिहे भोजमा झडप हुँदा थापामाथि मुस्ली(ओखलमा कुट्ने हतियार) प्रहार गरिएको थियो। ‘मुस्ली प्रहारबाट गम्भीर घाइते भएका थापाको शुक्रबार अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो’ डीएसपी गिरीले भने।
बिज्ञापन
घटनाका तीन जना आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए। उनका अनुसार पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका- ७ वाइलका दिर्घ बिष्ट, खेम बिष्ट र लोकेन्द्र खड्का रहेका छन्।
‘बिहे भोजमा आगो ताप्ने क्रममा दिर्घ बिष्टले आफूलाई सबैले दाई भन्नुपर्ने बताएपछि विवाद सुरु भएको बुझिएको छ,’ डीएसपी गिरीले भने, ‘विवाद बढेपछि थापामाथि मुस्ली प्रहार भएको बताइएको छ। थप अनुसन्धान भइरहेको छ ।’








