आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।
बिज्ञापन
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ।
बिज्ञापन
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ। तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ।
बिज्ञापन
-थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै:
थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन्। आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन्।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन्। थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ।
आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको अनुभव गर्छन्। तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग आज गर्दा सफल प्राप्त हुुने विश्वास यो समुदायमा छ। तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ विश्वास गरिन्छ।
आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ। यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ।
धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन्। सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ। थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ। यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ। थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ।








