खो खो विश्वकप आजदेखि भारतमा सुरु हुँदैछ। खो खो खेलको इतिहासमा पहिलो पटक विश्वकप हुन लागेको हो र यसमा पुरुष र महिला दुवैको विश्वकप एकसाथ हुँदैछ।
बिज्ञापन
दक्षिण एसियामा धेरै चर्चित रहेको खो खो विश्वकपमा विश्वभरका कूल २३ देशको सहभागिता छ। जसमा २० पुरुष टिम र १९ महिला टिमले प्रतिस्पर्धा गर्नेछन्। खो खो विश्वकप अन्तर्गत आज पुरुषतर्फको उद्घाटन खेल हुनेछ। जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुने। खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा नेपाली समय अनुसार राती ८:४५ बजे सुरु हुनेछ। पहिलो दिन उद्घाटन खेल मात्र हुनेछ।
बिज्ञापन
भारत र नेपालसँगै समूह ए मा भुटान, ब्राजिल र पेरु छन्। यस्तै समूह बी मा इरान नेदरल्याण्ड्स, अर्जेन्टिना, घाना र दक्षिण अफ्रिका छन्। समूह सी मा बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड तथा समूह डी मा इंग्ल्याण्ड, जर्मनी, मलेसिया, अष्ट्रेलिया र केन्या छन्। यसैगरी महिलातर्फ भारत, इरान, दक्षिण कोरिया र मलेसिया समूह ए मा, इंग्ल्याण्ड, अष्ट्रेलिया, केन्या र युगान्डा र नेदरल्याण्ड्स समूह बी मा छन्। दक्षिण एसियाका चार राष्ट्र नेपाल भुटान, श्रीलंका र बंगलादेशसहित जर्मनी समूह सी मा रहँदा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इन्डोनेसिया समूह डी मा छन्।
१६ राष्ट्रले महिला र पुरुष दुवैमा प्रतिस्पर्धा गर्दा ब्राजिल, अर्जेन्टिना, घाना, अमेरिकाले पुरुषतर्फ मात्र तथा युगान्डा, न्युजिल्याण्ड र इन्डोनेसियाले महिला तर्फ मात्र प्रतिस्पर्धा गर्नेछन्। महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार-चार समूहमा विभाजन गरिएको छ। महिलाको समूह ए मा बाहेक सबै समूहमा ५-५ टिम छन् र महिलाको समूह ए मा ४ टिम छन्।
बिज्ञापन
महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ। पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टिमले प्रतिस्पर्धा गर्दैछ। एसियन खो खो च्याम्पियनसिपमा पदक जितिसकेको नेपालले विश्वकपमा पनि कुनै न कुनै पदक जित्ने लक्ष्य राखेको छ।
नेपालको कप्तानी पुरुषतर्फ हेमराज पनेरु र महिलातर्फ सरस्वती कठायतले गर्नेछन्।








