सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष क्लब च्याम्पियनशिप आजदेखि शुरू हुँदैछ। खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा हुनेछ।
बिज्ञापन
च्याम्पियनशिपमा नेपालसहित चार वटा देशका पाँच वटा क्लबले खेल्दैछन्। नेपालबाट हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले प्रतिस्पर्धा गर्दैछन्। हेल्प नेपाल आठौं प्रधानमन्त्री कपमा विजेता बन्दै र गण्डकी प्रदेश उपविजेताका रूपमा यो च्याम्पियनशिपमा छनोट भएका हुन। यस्तै भारतको क्यालिकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडीसीले खेल्दैछन्।
बिज्ञापन
उद्घाटन खेलमा आज दिउँसो सवा ३ बजे नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले खेल्दैछन्। दोस्रो खेलमा साढे ५ बजे नेपालको गण्डकी प्रदेश र माल्दिभ्सको क्लब एचडीसीले खेल्नेछन्। यो च्याम्पियनशिपको बजेट एक करोड रुपैयाँ रहेको छ।
च्याम्पियनशिपमा सिङ्गल राउन्ड रोबिन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी १४ वटा खेल हुनेछन्। च्याम्पियनशिपको हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ। फाइनल खेल २९ गते हुनेछ।








