आज आइतबारदेखि धरहरा चढ्दा पैसा तिर्नुपर्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न अब पैसा लाग्ने भएको हो।
बिज्ञापन
स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो।
बिज्ञापन
उक्त प्रस्ताव स्वीकृत भएसँगै यही आइतबारदेखि धरहरा चढ्दा उल्लिखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ। स्वदेशी नागरिकको हकमा भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रूपैयाँ तोकिएको छ।
यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार शुल्क निर्धारण गरिएको छ।








