दाङको घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा व्यवस्थापन सङ्काय अन्तर्गत अध्ययनरत विद्यार्थीकालागि ऐच्छिक विषयका रूपमा कोरियन भाषा पनि राखेको छ । विद्यालयमै आफ्नो पढाइसँगै कोरियन भाषा पढ्न पाइने व्यवस्था भएपछि अर्थशास्त्र विषय छाडेर कोरियन भाषा पढ्न थालेको उक्त विद्यालयका विद्यार्थी दिवस केसीले बताए । केसीले भने, “कक्षा ११ मा कोरियन भाषा सिक्न सकिने र पछि रोजगारीकालागि कोरिया जान पनि सजिलो हुने भएकाले पढ्न थालेको छु ।”
बिज्ञापन
दिवससँगै आशा केसी पनि कोरियन भाषा अध्ययन गरिरहेकी छिन् । आफ्नो नियमित पढाइसँगै विद्यालयमै कोरियन भाषा अध्ययनगर्न सकिने भएकाले कोरियन भाषा पढ्न थालेको बताइन । भाषा सिकेपछि बेरोजगारी समस्याका कारण बिदेसिनुपर्ने अवस्था आएमा कोरिया जानकालागि सजिलो हुने अपेक्षा उनमा छ । व्यवस्थापन सङ्काय अध्ययनकालागि विद्यालयमा भर्ना भएर कोरियन भाषा पनि सिक्दै आएकी केसीले भनिन्, “विद्यालयमा कोरियन भाषा सिक्दा थप पैसा नलाग्ने र आफ्नो पढाइसँगै भाषा सिकिने भएकाले पढिरहेको छु ।”
बिज्ञापन
व्यवस्थापन सङ्काय अन्तर्गत विद्यालयले कोरियन भाषाको व्यवस्था गरेपछि अहिले विद्यालयमा ६० जना विद्यार्थीले नियमित कक्षासँगै कोरियन कक्षा लिइरहेका छन् । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनसँगै विद्यार्थीलाई बहुभाषाको ज्ञान गराउनकालागि यो वर्षदेखि कोरियन भाषाको पठनपाठन थालेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम खनाले बताए ।
विद्यालयले केही वर्षअघिदेखि विद्यार्थीलाई आयआर्जनमा जोड्न “पढ्दै कमाउँदै” कार्यक्रम लागु गरेको थियो । “पढ्दै कमाउँदै” कार्यक्रम अन्तर्गत विद्यार्थीलाई कृषिमा जोडेको विद्यालयले यो वर्षदेखि विद्यार्थीमा बहुभाषाको ज्ञान दिने उद्देश्यले कोरियन भाषाको पढाइ सुरु गरेको हो । प्रधानाध्यापक खनालका अनुसार विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ६० विद्यार्थी अहिले व्यवस्थापन सङ्काय अन्तर्गत कोरियन भाषाको कक्षा लिइरहेका छन् । उहाँका अनुसार विद्यालयले अर्को वर्षदेखि जापानिज भाषाको पढाइ पनि गर्ने तयारी गरेको छ ।








