बिज्ञापन
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौमा नेपालको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको सञ्चिति भदौ मसान्तमा वृद्धि भई २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको हो।
बिज्ञापन
अमेरिकी डलरका हिसाबले कुल विदेशी विनिमय सञ्चिति ४.७ प्रतिशतले बढ्दै २० अर्ब ४१ करोड डलर पुगेको छ। २०८२ असार मसान्तमा यो रकम १९ अर्ब ५० करोड डलर थियो। राष्ट्र बैंकका तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ६.९ प्रतिशतले बढेको छ। असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको सञ्चिति भदौ मसान्तमा वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि १३.७ प्रतिशतले बढेको छ। असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको सञ्चिति भदौ मसान्तमा २ खर्ब ९८ अर्ब ९७ करोडमा पुगेको राष्ट्र बैंकले जनाएको छ। २०८२ भदौ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार भदौको आयातका आधारमा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।
बिज्ञापन
विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेको बैंकले जनाएको छ। असार मसान्तमा ती अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए।








