९औं संस्करणको विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिज्ञापन
शनिबार विराटनगरको शहीद रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा एनआरटी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा प्रवेश गरेपछि सेमीफाइनल समिकरण पूरा भएको हो। यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन्। चर्च ब्वाइजले फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग खेल्नेछ।
बिज्ञापन
चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए। खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो। लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए। चर्च ब्वाइजका लागि दोस्रो गोल ६४औं मिनेटमा आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए।
जितसँगै चर्च ब्वाइजले एक महिना अगाडि धरानमा सम्पन्न भएको २५औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ। २७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो। एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो। जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ।
बिज्ञापन
आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टारबीच हुनेछ।








