काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन्।
बिज्ञापन
माघ २१ गते मनाइएको सरस्वती पूजाको अवसर पारेर ५३२ जना छात्रा र ४३९ जना छात्र बालबालिका भर्ना भएका हुन्। महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (ईसीडी) सञ्चालनमा छ। सबभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या माध्यमिक विद्यालय न्होखामा ६५ जना छात्रा छन्। ज्ञानोदय माध्यमिक विद्यालय बाफलमा ६० जना, जनपथ माध्यमिक विद्यालय कलंकीमा ४२ जना, कुलेश्वर माध्यमिक विद्यालय कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भएका छन्।
बिज्ञापन
यस्तै नीलवाराही माध्यमिक विद्यालय टंकेश्वर, सरस्वती निकेतन माध्यमिक विद्यालय ब्रह्मटोल, सितला माध्यमिक विद्यालय बालाजुमा प्रत्येक वद्यालयमा ४०/४० जना बालबालिका भर्ना भएका छन्। प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रीत सिकाइको स्तरवृद्धि गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँग ‘स्कूल टिच प्रोग्राम’अन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरूको क्षमतालगायत कोणबाट अध्ययन गरेको थियो।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल बिकासका कक्षाहरूको स्तरवृद्धिमा काम भइरहेको छ। यसअन्तर्गत विद्यार्थीहरूको संख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ।
बिज्ञापन
यस्तै शिक्षकहरूलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको छ। यसपछि आया र इसिडीका अतिरिक्त सहजकर्ता पठाउने तयारी छ।








