मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो नखेल्न प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै तिहारमा राति ९ बजेसम्म मात्र देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेको हो।
बिज्ञापन
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार तिहार तथा छठ पर्वका समयमा जिल्लामा शान्ति सुरक्षालाई प्रभावकारी तुल्याउन सुरक्षाकर्मी परिचालन गरी गस्ती बढाइएको छ। चार्ड पर्वलाई शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपार्न आग्रह गरिएको उनले बताए।
बिज्ञापन
पटाका, भूइँचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, विक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ। जुवा, तास, लङ्गुर बुर्जा खेल्ने खेलाउने तथा कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला तथा झैझगडा नगर्न प्रशासनको आग्रह रहेको छ।
प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकोले सो कार्य नगर्नु, नगराउनु प्रशासन कार्यालयले आग्रह गरेको छ। कानुन विपरीतका गतिविधि तथा क्रियाकलाप सञ्चालन गरेमा कारबाही हुने ब्यहोरा समेत प्रशासनले सचेत गराएको छ।








