आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। साथै आज औँसी श्राद्ध पनि गरिन्छ।
बिज्ञापन
पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ। कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ। कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ। मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ।
बिज्ञापन
यसअनुसार आज महोत्तरी जिल्लाका धार्मिक महत्वका नदी, सरोवर र कुण्डहरुमा एकाबिहानै तर्पण दिनेहरु भरिभराउ छन्। पितृपक्ष सम्पन्न गर्न आज महोत्तरीका रातु, माण्डवीगङ्गा (मरहा) र बाँकेलगायतका नदी तट र धार्मिक महत्वका सरोवरहरुमा तर्पण गर्न पुगेका छन्। जलेश्वरका वरुण, पुरन्दर र भार्गव सरोवरमा तर्पण र महालय (पार्वण, पितृपक्षमा गरिने विशेष विधिको श्राद्ध) श्राद्ध गर्नेहरुलाई सङ्कल्प गराउन पुरोहितहरुलाई भ्याइनभ्याइ छ।
यसैगरी धमौरास्थित ध्रुवकुण्ड , मटिहानीस्थित लक्ष्मीसागर, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथधाम र बर्दिबास–५ स्थित टुटेश्वरधाममा तर्पण दिने र श्राद्ध गर्ने पुगेका छन्। मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई मैथिल बोलिचालीमा ‘सोलहसराद’ र ‘पितरपक्ष’ पनि भन्ने गरिन्छ।
बिज्ञापन
औँसीका दिन यसअघि रोकिएका श्राद्ध पनि गर्नसकिने हिन्दू मैथिल परम्पराको कर्मकाण्डीय विधान रहेको छ ।








