सोमबार दाङ र रोल्पामा भएका दुर्घटनामा परी २७ जना घाइते भएका छन्।
बिज्ञापन
बुटवलबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने ९ जनाको अवस्था सामान्य छ। घाइते सबैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ। लु १ ख ८४१२ नम्बरको बस जिल्लाको घोराही उपमहानगरपालिका-१७ बेलभारमा दुर्घटना भएको थियो। चालक तुलसीपुर उपमहानगरपालिका-१८ का २९ वर्षीय विवेक कार्कीले एकाएक ह्यान्डल लक भएकाले बस दुर्घटनामा परेको बयान दिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।
बिज्ञापन
त्यस्तै रोल्पामा भएको अटो दुर्घटनामा पाँच यात्रु घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-५ चबिस्थित जुगारदेखि लिङ्डुङतर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनामा परेको थियो। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि दाङ ल्याइएको छ। अरू घाइतेको रोल्पाकै प्राथमिक स्वास्थ्य केन्द्र नेर्पा जुँगारमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।








