रौतहटको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीको टोलीले २८ लाख बढीको अवैध भारतीय कपडा बरामद गरेको छ । तर दुवै स्थानमा अबैधरुपमा कपडा भित्र्याउने तस्कर भने पक्राउ पर्न सकेका छैनन् ।
बिज्ञापन
सशस्त्र प्रहरीको टोलीले बिहीबार चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एउटा घरबाट १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र सुरक्षा बेस मटीऔंन सन्तपुर र जिल्ला भन्सार कार्यालय गौरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा १२ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीआईजी, सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
बिज्ञापन
त्यस्तै दुईदिन अघि सशस्त्र प्रहरी बल नेपाल ११ गण हेक्वा रौतहटले १५ लाख बढीको अवैध लत्ताकपडाहरू बरामद गरेको थियो । विशेष सूचनाको आधारमा गण बाट गएको टोलीले बौधिमाई नगरपालिका ७ स्थित रौतहट बाराको सिमानामा रहेको अरुवा खोला पुल नजिकै टहरामा बेवारिसे अवस्थामा रहेको उक्त कपडा बरामद गरेको एसपी माधव रेग्मीले बताएका थिए ।
बरामद लत्ताकपडाहरू राजश्व अनुसन्धान कार्यालय पथलैया र जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सार्वजनिक गरेको थियो । तस्करहरुको समूहले भारतीय बजार बाट रातिराती ठूलो परिमाणमा अवैध रुपमा भित्रयाएको कपडा लुकाई छिपाई रौतहटको बिभिन्न स्थानमा राख्ने गर्दछन् । पछि आफ्नो सुबिधा अनुसार जिल्लाको बिभिन्न बजारमा पुर्याउने गर्दछन् ।
बिज्ञापन
यसरी बौधिमाई र चन्द्रपुरमा त्यत्रो ठूलो परिमाणको कपडा अवैध भण्डारण बारे सशस्त्र प्रहरीले सूचना सुराकी पाएर कपडा बरामद गर्छन् तर तस्कर बारे जानकारी नहुनु अथवा जानीजानी भगाएको भन्नेमा स्थानीयहरूले शंका गरिरहेका छन् । पछिल्लो समय रौतहटमा भारतीय कपडा मात्र नभई किराना, कस्मेटिक्स , हार्डवेयर, लगायत अनेकौं किसिमका सामानको तस्करी बढेको छ । तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रायः असफल भएका छन् ।








