नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहार (यमपञ्चक) का लागि भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार यस वर्ष कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीका लगाउने उत्तम साइत रहेको छ।
बिज्ञापन
समितिद्वारा स्वीकृत पात्रोअनुसार यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू हुनेछ। सोही दिनदेखि यमदीप दान सुरु हुने र धन त्रयोदशी तथा धनतेरस पर्व पनि यही दिन मनाइने उल्लेख छ। कात्तिक २ गते आइतबार काग तिहार परेको छ, जुन दिन धनवन्तरी जयन्ती पनि मनाइन्छ। त्यसैगरी कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइनेछ। समितिका अनुसार सो दिन दिउँसो २:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि रहने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको हो।
बिज्ञापन
कात्तिक ४ गते मङ्गलबार बिहान स्नान, दान गर्ने दिन हुने समितिले जनाएको छ। सो दिन दिउँसो ४:२९ बजेसम्म औँशी तिथि रहनेछ। शास्त्रीय विधिअनुसार भाइपूजा (नेवारी भाषामा किजा पूजा) भने कात्तिक ६ गते बिहीबार मनाइनेछ।








