काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलसहित ३९ जना कार्यपालिका सदस्यले सात दिनभित्र कार्यपालिका बैठक बोलाउन मेयर बालेन शाहलाई अल्टिमेटम(समयसीमा) दिएका छन् ।
बिज्ञापन
सोमबार बसेको अनौपचारिक बैठकले यस्तो अल्टिमेटम दिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ४० सदस्यीय रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो । कार्यपालिकामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ । उनीहरू अल्टिमेटका लागि सामुहिक हस्ताक्षरसमेत गरेका छन् ।
बिज्ञापन
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एकपटक बस्ने व्यवस्था रहे पनि काठमाडौं महानगरको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन । कार्यपालिका बैठक बोलाउन घच्घच्याउँदा पनि मेयर शाहले कुनै पनि चासो नदेखाउँदा थप समस्या सिर्जना भएको सदस्यहरूको गुनासो छ ।








