मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटे स्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ। दुर्घटनाका कारण उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको छ।
बिज्ञापन
हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के इन्डियन ग्यास लोड बुलेट गाडी दुर्घटना भएको हो। आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण बाटो अवरुद्ध भएको हो। ग्यास बुलेट पल्टिएको रोडको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
बिज्ञापन
ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनको भनाई छ। प्रहरी प्रवक्ता अर्यालका अनुसार ग्यास बुलेटको चालक र सहचालक दुवै जना सकुशल रहेका छन्। प्रवक्ता अर्यालले चालकले बाटो बिराउँदा गलत बाटो गएको र साँघुरो बाटो र अप्ठ्यारो भूगोलका कारण बुलेट दुर्घटना भएको हुनसक्ने बताए। उनले पल्टिएको ग्यास बुलेट उठाउन ३/४ घण्टा लाग्ने र उक्त अवधिमा हेटौँडाबाट उक्त सडकखण्ड हुँदै काठमाडौँ जाने सवारी साधनहरूलाई कान्तिलोकपथ वा चितवन तर्फको बाटो प्रयोग आग्रह गरेको छन्।
प्रहरी प्रवक्ता अर्यालले ग्यास बुलेटबाट ग्यास लिक नभएको र लिक हुने सम्भावना नरहेको बुझिएको जानकारी दिए। उनले ग्यास बुलेट उठाउने र सवारी आवतजावतमा सावधानी अपनाइ रहेको बताए।
बिज्ञापन








