आज बिहान (बिहीबार) जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आगलागी भएको छ। आगलागी हुँदा एक जना घाइते भएका छन्।
बिज्ञापन
जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्।
बिज्ञापन
उनको हात र औलामा आगोले पोलेर घाइते भएपछि उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए। उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ। हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन्।
तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्कएका थिए। प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए। विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए।








