मौसममा आएको फेरबदलसँगै सोमबार पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ।
बिज्ञापन
महाशाखाका अनुसार आज आइतबार राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिज्ञापन
सोमबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैबीच, शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ। शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो। मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो।
बिज्ञापन








