१४ वर्षीया बालिकालाई अपहरण गरी भारत लगेको आरोपमा लमजुङ प्रहरीले एकै परिवारका ३ जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
प्रहरीले भारतको मोतिहारी घोडासान थाना बकुलिया-५ घर भई हाल बेंसीसहर नगरपालिका-७, सहजी बस्दै आएका ४० वर्षीय शेख सइतुला, उनका श्रीमती र छोरालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार किशोरीलाई मंसिर २४ गते बिहान साँढे ८ बजेतिर परिवारलाई थाहै नदिई बेंसीसहरबाट लगेको र नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको छ। प्रहरीले उक्त क्षेत्रबाट नै शेख परिवारलाई पक्राउ गरेको जनाएको छ।
बिज्ञापन
शेखले आफ्नो छोराले भगाएर लगेको भनी किशोरीकी आमालाई फोन गरेपछि घटना बाहिरिएको थियो। जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले किशोरीलाई उद्दार गर्नुका साथै घटनामा संलग्न ३ जनालाई पक्राउ गरी सोमबार ल्याएको र मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर मुद्दामा लमजुङ जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए।
प्रहरीका अनुसार शेख परिवार बेंसीसहरमा बसेर सिरक डसनाको काम गर्दै आएका थिए। उनीहरुले किशोरीलाई भारत लानुअघि मोवाइलसमेत किनिदिएको प्रहरी स्रोतले बताएको छ। किशोरीलाई ललाई फकाई विभिन्न प्रलोभन देखाएर भारत लैजाँदै क्रममा उद्दार गरिएको र घटनामा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।








