एसीसी महिला यू १९ एसिया कप प्रतियोगितामा नेपालले सुपर फोरबाट प्रतियोगिताको यात्रा टुंग्याएको छ। शुक्रबार सुपर फोरमा बंगलादेशसँग पराजित भएसँगै नेपालको फाइनल पुग्ने सपना चकनाचुर भएको हो। शुक्रबार सुपर फोरको खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले हरायो। र फाइनलमा पुग्यो।
बिज्ञापन
मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो। खेलमा जित हासिल गर्ने टोली फाइनल प्रवेश गर्ने समीकरण रहेको थियो। भारत भने यसअघि नै फाइनलमा पुगिसकेको थियो। टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो। जवाफमा बंगलादेशले दशौं ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
बिज्ञापन
बंगालदेशका लागि ओपनर फाहोमिदा चोयाले ३ चौकासहित नटआउट २६ रन जोडिन्। अर्की ओपनर मोसमत इभाले २१ बलमा १ छक्कासहित १८ रनको योगदान दिइन्। त्यसअघि नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन्। कप्तान पुजा महतो ९ र एलिशा यादवले ८ रन बनाए। नेपालका ४ ब्याटर रनआउट हुन पुगेका थिए।
पावरप्ले देखि नै रनका लागि संघर्ष गरेको नेपालले ठूलो सट खेल्न सकेन। नेपालका लागि एलिसाले २ तथा सावित्री र पुजाले १/१ चौका प्रहार गरेका थिए। सुपर ४ को शीर्षस्थानमा रहेर भारतले फाइनलमा स्थान पक्का गरेको हो। भारतको ७ अंक जोड्दा बंगलादेशले ६ र नेपाल ४ अंक जोड्यो। श्रीलंकाले ३ अंक मात्र जोड्न सक्यो।








