आज १४ नोभेम्बर अर्थात् विश्व मधुमेह दिवस। यही अवसर पारेर द ल्यानसेटले मधुमेहका बिरामीको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यो तथ्यांकले सन् १९९० यता विश्वभर मधुमेह भएका वयस्कहरुको सङ्ख्या ८० करोड नाघेको बताएको छ।
बिज्ञापन
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा एनसीडी रिस्क फ्याक्टर कोलाब्रेसनद्धारा गरिएको यो विश्लेषणमा मधुमेहको बढ्दो महामारी र फराकिलो हुँदै गएको उपचारको अवस्थालाई सम्वोधन गर्न तत्काल बलियो विश्वव्यापी अभियान आवश्यक रहेको बताएको छ। अझ् यस्तो समस्या कम तथा मध्यम आय भएका मुलुकहरूमा रहेको समेत उसले उल्लेख गरेको छ। डब्लुएचओका महानिर्देशक डा, टेड्रोस अधोनभ गेब्रेयससले विगत तीन दशकमा विश्वभर नै मधुमेहको डरलाग्दो बृद्धि देखेको भन्दै मोटोपनमा भएको वृद्धिले त्यसको प्रतिविम्ब गर्ने बताए। उनले अस्वस्थ खानाको बजारीकरण, शारीरिक गतिविधिको कमी र आर्थिक समस्या मूल कारण हुने समेत उल्लेख गरे।
बिज्ञापन
उनले विश्वव्यापी रुपमा फैलिएको मधुमेहको महामारीलाई नियन्त्रणमा ल्याउन देशहरुले तत्काल कदम चाल्नुपर्ने भन्दै स्वस्थ खानपान र शारीरिक गतिविधि बढाउने नीति अघि सार्नुपर्ने बताए। अध्ययनले सन् १९९० र २०२२ को बीचमा बयस्कहरुमा मधुमेहको विश्वव्यापी प्रक्रोप ७ बाट १४ प्रतिशतसम्म बढेको देखाएको छ। प्रतिवेदनले मधुमेह भएका बयस्कको सङ्ख्या बढी रहँदा उपचारको पहुँच भने निरन्तर न्यून रहेको उल्लेख गरेको छ। जसका कारण विश्व व्यापी असमानताहरु निम्त्याएको समेत बताइएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२२ मा ३० वर्ष र त्यसभन्दा माथिका लगभग ४५ करोड अर्थात् कुल मधुमेहीको ५९ प्रतिशत सङ्ख्या उपचार नगरी बस्न बाध्य भए।’ सन् १९९० देखि उपचार नगरिएका मधुमेह संक्रमितको सङ्ख्या ३.५ गुणा बृद्धि भएको छ र त्यसमा ९० प्रतिशत हिस्सा कम तथा मध्यम आय भएका मुलुकका नागरिक हुन्।








