युट्युबकी पूर्व प्रमुख कार्यकारी (सीईओ) सुसान वोज्स्कीको निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित वोज्स्कीको शनिवार ५६ वर्षको उमेरमा निधन भएको हो ।
बिज्ञापन
उनका श्रीमान् डेनिस ट्रोपरले फेसबुकमा एक पोस्टमार्फत यसबारे जानकारी दिएका छन् । वोज्स्कीको निधनको खबर गुगलका सीईओ सुन्दर पिचाईले पनि एक ब्लगमार्फत सार्वजनिक गरेका छन् । जहाँ वोज्स्कीले आफ्नो परोपकारको माध्यमबाट संसारलाई अझ राम्रो बनाउन समर्पित गरेको भन्दै प्रशंसा गरिएको छ । वोज्स्कीलाई प्रविधि क्षेत्रकै सफल र चर्चित महिला मानिन्छ । उनले युट्युबलाई विश्वको सबैभन्दा ठूलो भिडिओ शेयरिङ प्लेटफर्म बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले सन् २०१४ देखि सन् २०२३ सम्म युट्युबको नेतृत्व गरेकी थिइन् । उनको नेतृत्वमा युट्युबले विज्ञापन आम्दानीमा उल्लेख्य वृद्धि गरेको थियो भने युट्युब क्रियेटरहरूका लागि थप अवसरहरू सिर्जना गरेको थियो ।
बिज्ञापन
उनी सन् १९९९ मा गुगलमा जोडिएकी थिइन् । त्यसबेला गुगल (अल्फाबेट)ले युट्युबलाई अधिग्रहण गरेको थिएन । गुगलले २००६ मा मात्र युट्युबलाई अधिग्रहण गरेको थियो । सन् २०१४ मा युट्युबकी सीईओ बन्नुअघि उनी गुगलको एड प्रोडक्टमा सिनियर भाइस प्रेसिडेन्टको भूमिकामा थिइन् । युट्युबको सीईओ बनेपछि उनले नौ वर्षसम्म कार्यभार सम्हालिन् । त्यसपछि, परिवार, स्वास्थ्य र व्यक्तिगत जीवनलाई प्राथमिकता दिँदै उनले सन् २०२३ मा उक्त भूमिका छाडेकी थिइन् ।
वोज्स्कीको योगदानलाई सम्झँदै विभिन्न व्यक्ति तथा संस्थाहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बिज्ञापन








