बिज्ञापन
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको प्रतिष्ठित क्लब अल इत्तेहाद मा आबद्ध भएकी छिन्। क्लबले उनलाई ‘नेपाली मेसी’ को उपनाम दिँदै स्वागत गरेको छ। २० वर्षीय राईले हालै सबै प्रक्रिया पूरा गर्दै इत्तेहादसँग सम्झौता गरेकी हुन्। क्लबले उनलाई एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणका लागि अनुबन्ध गरेको हो।
बिज्ञापन
उत्कृष्ट पासिङ, रणनीतिक सोच र मैदानमा चपलता देखाउँदै चर्चामा आएकी प्रीति यसअघि भारतको किकस्टार्ट एफसीबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्लब यात्रा सुरु गरेकी थिइन्। त्यसअघि उनी घरेलु विभागीय क्लब एपीएफबाट नियमित खेल्दै आएकी थिइन्। जोर्डन पुगिसकेपछि प्रीति राईले आफू आबद्ध भएको क्लबलाई “उत्कृष्ट अवसर र चुनौतीको मेल” भएको बताइन्। “यो क्लबसँग आबद्ध हुन पाउनु मेरो लागि ठूलो सम्मान हो,” उनले भनिन्।
बिज्ञापन
राष्ट्रिय टिमकी मिडफिल्डर प्रीतिलाई क्लबले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । “नेपालको मेसी आइपुगेकी छन् । इत्तिहादमा स्वागत छ प्रीति राई,” इत्तिहादले इन्स्टाग्राममा लेखेको छ । क्लबले महिला एएफसी च्याम्पियनसिपका निम्ति प्रीतिलाई अनुबन्ध गरेको हो । यसपटक समूह ‘सी’मा इत्तिहादसँगै मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र कीर्गिस्तानको सड्युशोर एसआई एसियागोल छन् ।
यस समूहको खेल मलेसियामा हुनेछ । इत्तिहादले अगस्ट २५ मा लायनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी, क्लबले अगस्त २८ मा केलाना र ३१ मा सड्युशोरको सामना गर्नेछ । नेपालको घरेलु लिगमा प्रीति विभागीय टोली एपीएफ क्लबबाट खेल्दै आएकी छन् ।
सन् २०१८ मा स्थापना भएको अल इत्तेहाद क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग च्याम्पियनको उपाधि जितेको थियो। अघिल्लो वर्ष क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा भारतको ओडिशा एफसी र सिंगापुरको लायन सिटीसँग प्रतिस्पर्धा गर्दै एक जित निकालेको थियो। यस वर्ष क्लब समूह ‘सी’ मा परेको छ, र प्रीति राईको आगमनसँगै बलियो प्रदर्शनको अपेक्षा गरिएको छ।
प्रीतिको यो उपलब्धिले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय स्तरमा पहिचान थप प्रस्ट बनाएको भन्दै खेल क्षेत्रका अगुवाहरूले खुसी व्यक्त गरेका छन्। उनी नेपाली महिला फुटबलका लागि प्रेरणादायी पात्रका रूपमा स्थापित हुँदै गएकी छिन्।








