सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गर्दा गर्दै कारागारबाट फरार भएका दीपकबहादुर सिंह १२ वर्षपछि पक्राउ परेका छन्।
बिज्ञापन
कैलालीको गोदावरी नगरपालिका–११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने सिंह २२ साउन २०६९ मा कैलाली कारागारबाट फरार भएका थिए। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल–भारत सीमा गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
बिज्ञापन
सिंहलाई कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको २७ मंसिर २०६७ मा सर्वस्वसहित जन्मकैदको सजाय फैसला सुनाएको थियो। २४ फागुन २०६४ मा भक्तबहादुर भनिने बमबहादुर साउदको हत्या गरेको मुद्दामा अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
अदालतको फैसला आउँदा उनी ११ असार २०६६ देखि थुनामै थिए। उनले हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका थिए। सिंहमाथि हत्या र हातहतियार खरखजनाबाहेक अन्य मुद्दाहरू पनि छन्।
बिज्ञापन
उनीविरुद्ध २ असोज २०६२ मा गोदावरी–६ कै मानबहादुर सुनारको हत्या, १० असार २०६५ मा अपहरण, १० असार २०६६ मा हातहतियार खरखजनालगायत मुद्दा छन्।








