बेँसीशहर नगरपालिका–७ स्थित मयुम खोला पुलमा शनिबार बेलुका अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
बिज्ञापन
बेँसीशहरबाट मकैडाँडातर्फ जाँदै गरेको लु.प्र. ०१–००१-ह-१७३८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट झण्डै पाँच मिटर तल खसेको थियो।दुर्घटनामा अटो चालक र तीन यात्रु घाइते भएका छन्। बेँसीशहर नगपालिका-७ निवासी ४५ वर्षीय चालक भरत सुयालको टाउकोमा गम्भीर चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उनलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।
बिज्ञापन
घाइते यात्रुहरूमध्ये चितवन भरतपुर महानगरपालिका–११ की २७ वर्षीया शोभा खातीको बायाँ हात र घुँडामा सामान्य चोट लागेको छ। शोभाकी ५ वर्षीया छोरी सेजल खातीको छातीमा भित्री चोट लागेको भए पनि अवस्था सामान्य रहेको जनाइएको छ। यस्तै, बेँसीशहर नगरपालिका–७ की ६० वर्षीया चिनमाया परियारको बायाँ हात र घुँडामा चोट लागेको छ। उनको पनि अवस्था सामान्य छ। सामान्य घाइतेहरूलाई स्थानीय मोडल अस्पतालमा उपचार गराइएको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








