कैलाली प्रहरीको हिरासतमा रहेका एक जनालाई थुनामुक्त गराइदिन्छु भन्दै रकम असुल गर्ने तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउदलाई पक्राउ गरिएको हो।
बिज्ञापन
कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका एक जनालाई थुनामुक्त गराइदिन्छु भन्दै उनीहरुले रकम असुल गरेका थिए। ‘थुनुवाका परिवारका सदस्यहरुबाट भारतीय मुद्रा ३९ हजार पाँच सय असुल गरेको सूचना पाएपछि तीन जनालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘उक्त रकम पनि बरामद गरेका छौं।’








