सरकारले वैदेशिक रोजगारीमा रहेका वा रहिसकेका कामदारका सन्तानका लागि छात्रवृत्तिको आवेदन खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै “वैदेशिक रोजगार सन्तती छात्रवृत्ति” का लागि आवेदन दिन आह्वान गरेको हो।
बिज्ञापन
सूचनाअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अंगभंग वा बिरामी भएर कल्याणकारी कोषबाट शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्तान यस छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीहरूले आफू अध्ययनरत शैक्षिक संस्थामार्फत “वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८०” को अनुसूची (१) बमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति कात्तिक मसान्तसम्म तोकिएको छ।
बिज्ञापन
सचिवालयका अनुसार यो छात्रवृत्तिले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अपाङ्ग भएका कामदारका सन्तानलाई शिक्षामा निरन्तरता दिलाउन सहयोग पुर्याउने उद्देश्य राखेको छ।








