रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन्।
बिज्ञापन
यस वर्षको होली पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते मनाइँदै छ। मौसमविद प्रतिभा मानन्धरले होलीसम्म घाम राम्रोसँग नलाग्ने बताइन्। उनले भनिन्, ‘आगामी तीन दिनसम्मै घाम खुलेर लाग्दैन, घाम–बादल, घाम–बादल मात्रै हुने सम्भावना छ।’
बिज्ञापन
उनका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ। त्यसैको प्रभावले देशभर नै बादल लागेको हो। तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन। मौसमविद मानन्धरका अनुसार अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अघिल्ला दिनहरुमा जस्तै आगामी तीन दिनसम्म बादल लाग्ने छ। तर ठूलो पानी पर्ने सम्भावना छैन।
‘अहिलेको मौसमी प्रणाली कमजोर भएकाले टलक्क घाम लाग्ने अवस्था छैन। पानी परिहालेछ भने पनि अलि–अलि छिट्याउने जस्तो मात्र देखिन्छ, ठूलो पानी पर्दैन,’ उनले भनिन्। उनका अनुसार गण्डकीभन्दा पश्चिमको भूभागमा पनि बादल लाग्ने तर पानी नपर्ने सम्भावना छ। काठमाडौं उपत्यका र उपत्यका आसपासका क्षेत्रमा भने छिटफुट मात्र पानी पर्ने सम्भावना छ। ‘घाम राम्रोसँग लाग्दैन। आकाश धुम्म देखिन्छ,’ उनले भनिन्, ‘काठमाडौं उपत्यकामा पानी परिहालेछ भने पनि हल्काभन्दा बढी पर्दैन।’
बिज्ञापन
तर काठमाडौं उपत्यकाका सबै ठाउँमा एकनासको पानी पर्ने सम्भावना छैन। खासगरी उत्तरी भूभागमा हल्का पानी पर्ने पूर्वानुमान छ। ‘हिजो–अस्तिजस्तै कतैकतै छिट्याउने खालको पानी पर्ने जस्तो देखिन्छ,’ उनले भनिन्। उनका अनुसार आगामी तीन दिनसम्म अवस्था यस्तै रहने सम्भावना छ। अहिलेसम्मको अवस्था हेर्दा अर्को हप्ताबाट भने मौसममा सुधार हुने सम्भावना छ।








