बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
बिज्ञापन
महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
बिज्ञापन
आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ । नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ ।








