श्रीमान्को हत्या आरोपमा ४३ वर्षीया महिला पक्राउ परेकी छिन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६, भुराकोटकी ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी छिन्।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको ट्वाइलेटमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर प्राप्त भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले उक्त जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा टोली खटाइएको जानकारी दिए।
बिज्ञापन
‘घटनास्थलमा पुग्दा मृतक लडेको भनिएको ठाउँमा नभई केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए,’ डीएसपी जोशीले भने, ‘ट्वाइलेट र बाथरुम हेर्दा लडेको जस्तो देखिएको थिएन। मृतकको टाउकोमा काटिएको जस्तो चोट देखिएका थिए। प्रहरी मृत्यु नभएर हत्या भएको हो भन्ने निष्कर्षमा पुगिसकेको थियो।’ डीएसपी जोशीका अनुसार ठाउँ(ठाउँमा रगत पनि भेटिएपछि उनकी श्रीमती जनककुमारीलाई सोधपुछ गरिएको थियो। ‘सोधपुछका क्रममा जनककुमारीले श्रीमान्–श्रीमतीबीच बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इट्टाले टाउकोमा हानेर घटना आफूले गरेको भन्दै स्वीकार गरेकी छिन्,’ डीएसपी जोशीले भने।
उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरिएको डीएसपी जोशीले बताए।








