एक खाजा घरमा काम गर्दै आएका १४ वर्षीय बालकको उद्धार गरिएको छ। काठमाडौँ महानगरपालिकाको बाल उद्धार कार्यदलले काठमाडौँ महानगरपालिका–१ स्थित हात्तिसारमा रहेको आईएस मःम एण्ड खाजा घरमा जोखिमपूर्ण अवस्थामा काम गर्दै आएका बालकको उद्धार गरिएको हो।
बिज्ञापन
काठमाडौँ महानगरपालिका, बागमती श्रम तथा रोजगार कार्यालय, बालबालिका खोजतलास सेवा (१०४) सहितको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धार पश्चात् ती बालकलाई अस्थायी संरक्षण गृहमा राखिएको छ। उनलाई मनोविमर्श स्वास्थ्य उपचार लगायतका सेवा समेत प्रदान गरिएको हो।
बिज्ञापन
काठमाडौँ महानगरको प्रमुखको सचिवालय सदस्य धिरज जोशीले एकदम दयनीय अवस्थामा रहेका ती बालकको उद्धार गरिएको बताए। बिहानदेखि रातिसम्म काममा लगाउने, त्यसरी काम गराएवापत कुनै पारिश्रमिक नदिने, राति भुईँमै सुत्ने जस्तो अमानवीय व्यवहार देखिएपछि उद्धार गरिएको उनले बताए।
काठमाडौँ महानगरपालिकाले हालसम्म २५ बालक र २७ बालिका गरी कुल ५२ जना बालबालिकाको उद्धार गरेको छ। महानगरले दोस्रो चरणको बाल उद्धार कार्य सुरु गरेसँगै ती बालकको उद्धार गरिएको हो।
बिज्ञापन
महानगरपालिकाले पहिलो चरणमा उद्धार भएका सबै बालबालिकाको घटना व्यवस्थापन कार्य सकाएपछि दोस्रो चरणको बाल उद्धार कार्य सुरु गरेको हो।








