तिहार नजिकिएसँगै बजारमा भाइमसलाले पनि बजार तताइसकेको छ। प्रमुख चोकदेखि गल्लीसम्म अहिले भाइमसलामा प्रयोग हुने ड्राइफ्रुटको बग्रेल्ती अस्थायी पसल थापेर बिक्री हुन थालेको छ।
बिज्ञापन
नेपाल खुद्रा व्यापार संघका अनुसार यो वर्ष भाइमसलामा प्रयोग हुने विभिन्न प्रकारको ड्राइफ्रुटको मूल्य बढेकाले गत वर्षको तुलनामा १० देखि २५ प्रतिशतसम्म मूल्य बढेको छ। संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार यो वर्ष बजारमा काजुको आकार र गुणस्तरअनुसार प्रतिकिलो २२ सयदेखि २५ सयसम्म मूल्य तोकिएको छ। यस्तै किसमिसलाई ६ सयदेखि ७ सय रुपैयाँ, आलमण्ड(बदाम) लाई १६ सयदेखि १७ सयसम्म, छोकडालाई ५ सयदेखि ५ सय ५०, पेस्ता २ हजारदेखि २२ सय र नरिवललाई ६ सयदेखि ७ सयसम्म प्रतिकिलो मूल्य तोकिएको छ।
बिज्ञापन
बाटोघाटोको असुविधाका कारण गत वर्षको तुलनामा काजुमा २५ प्रतिशतसम्म मूल्य बढेको छ। यस्तै आलमण्ड (बदाम) मा २० प्रतिशत र अन्यमा १० प्रतिशतले मूल्य बढेको छ। बज्राचार्यका अनुसार वर्षभर कारोबार हुने ड्राइफ्रुटको व्यापारमध्ये तिहारदेखि भाइटिकासम्म ८० प्रतिशतले हुन्छ । बाँकी २० प्रतिशत वर्षभर कारोबार हुन्छ।
भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक बर्षको ३ महिना (साउनदेखि असोज) को अवधीमा १ अर्ब ५२ करोड ६४ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख २९ हजार ९ सय ६३ किलो ड्राई फ्रुट विभिन्न मुलुकबाट आयात भएको छ। गत आर्थिक बर्ष २०८०/ ८१ मा २ अर्ब ७२ करोड ७ लाख रुपैयाँबराबरको २ करोड २ लाख २४ हजार ८ सय ५३ किलो आयात भएको थियो।








