म्याट हेनरी र विलियम ओ’रुउर्केले सानदार बलिङमा भारत वर्षाले प्रभावित पहिलो टेस्टमा बिहीबार तहसनहस भएको छ । उनीहरूले एकापसमा ९ विकेट बाँडेपछि भारत ४६ रनको सानो स्कोरमा अलआउट भयो ।
बिज्ञापन
पहिलो दिन वर्षाले कुनै खेल नभएको अवस्थामा भारत बादलले घेरिएको मौसममा दोस्रो दिन ३१.२ ओभर खेलेर अलआउट भयो । भारतको यो तेस्रो न्युन टेस्ट स्कोर हो र आफ्नै भूमिमा सवैभन्दा कम पनि । सन् २०२० मा एडिलेडको पिंक बल टेस्टमा अस्ट्रेलियासँग भारत ३६ रनमै अलआउट भएको थियो । सन् १९८७ मा नयाँ दिल्लीमा वेस्ट इन्डिजसँग ७५ रनमा अलआउट हुनु भारतको घरेलु भूमिमा न्युन स्कोर थियो । ‘कहिलकाहीं तपाईंले सही निर्णय लिनुहुन्छ, कहिले हुन्न,’ भारतीय कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने आफ्नो निर्णय गलत भएको जनाउँदै भने, ‘यसपल्ट मैले सही निर्णय लिन सकिनँ, यो निर्णयका लागि म केही दुःखी छु ।’
बिज्ञापन
स्टार ब्याटर विराट कोहलीसहित पाँच खेलाडी खाता खोल्न नसकी आउट भएको भारतीय इनिङ्समा ऋषभ पन्तले सर्वाधिक २० रन बनाए । स्टम्पआउट गर्न चुक्दा घाइते भएका पन्तको स्थानमा ध्रुव जुरेलले वैकल्पिक विकेटकिपिङको भूमिका निभाए । ओपनर यशस्वी जैसवालले १३ रन बनाए । अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । हेनरीले ५ विकेट लिए । त्यसमध्ये अन्तिम विकेट कुलदीप यादवको थियो, जुन हेनरीको टेस्टमा १ सय विकेट थियो । टिम साउथीले रोहित शर्मालाई इनस्वीङ बलमा २ रनमा बोल्ड गर्दै विकेट लिन सुरु गरेका थिए । त्यसपछि हेनरी र ओ’रुउर्के खेलमा हाबी भए । ओ’रुउर्केले ४ विकेट लिए ।
दिनको खेल समाप्तिमा न्युजिल्यान्डले ३ विकेट गुमाई १ सय ८० रन बनाएर १ सय ३४ रनको अग्रता लिइसकेको छ । ओपनर डेभोन कोन्वे ९१ रन बनाई स्पिनर रविचन्द्रन अश्विनको बलमा रिभर्स स्विप गर्दा बोल्ड भए । रचिन रवीन्द्र २२ र डारेल मिचेल १४ रन बनाई क्रिजमा छन् ।








