दैलेखको डुङ्गेश्वर गाउँपालिका–६, सानोओइरीका छविलाल उपाध्याय गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन गए । वडा कार्यालयबाट आवश्यक कागजात बनाएर जिल्ला प्रशासन पुगेका उनलाई आफ्नै छोराले नागरिकतामा हस्ताक्षर गरेर प्रतिलिपि पाइएला भन्ने लागेको थिएन ।
बिज्ञापन
छोरा प्रमुख प्रशासकीय अधिकृत भए पनि नागरिकतामा प्रमुख जिल्ला अधिकारीकै हस्ताक्षर होला भन्ने सोचेका उनलाई आफ्नै छोराले नागरिकतामा हस्ताक्षर गरेर हस्तान्तरण गरेपछि छविलालको खुसीको सीमा रहेन । “अधिकृतमा नाम निकालेर अध्यागमन विभागबाट सरुवा भई दैलेख आएको छोराले मेरै नागरिकतामा हस्ताक्षर गर्ला भन्ने मलाई लागेकै थिएन,” उनले थपे, “दुःख गरेर पढाएको छोराले आफ्नै नागरिकतामा हस्ताक्षर गरेर दिनु मेरा लागि गौरवको कुरा हो ।” उपाध्यायले आफ्ना दुई छोरा र एक छोरीमध्ये जेठो छोरा ऋषि उपाध्याय अधिकृत, छोरी खरिदार र कान्छो छोरा स्नातकोत्तर पढिरहेको बताए ।
बिज्ञापन
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ऋषि उपाध्यायले आफैँले हस्ताक्षर गरेर बुवाको नागरिकताको प्रतिलिपि दिन पाउँदा निकै खुसी लागेको बताए । उनले आफ्नो बुवाको नागरिकतामा हस्ताक्षर गरेर प्रतिलिपि दिँदा आफूलाई संसारकै भाग्यमानी सन्तान भएको जनाए। उनले भने “आफ्नै छोराले हस्ताक्षर गरेर बुवालाई नागरिकताको प्रतिलिपि दिँदा अभिभावकलाई त्योभन्दा बढी खुसी केही हुँदैन ।” विसं २०४५ मा बनाइएको बुवाको नागरिकता पुरानो भएका कारण प्रतिलिपि बनाउनु परेको उपाध्यायको भनाइ छ । – गोरखापत्र अनलाइनबाट।








